नेपालको शानदार जित, डेब्यु खेलमै आसिफ र कुशलको कीर्तिमान
काठमाडौँ- दुई युवा खेलाडी कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी प्रदर्शनपछि नेपालले शनिबार त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्धन्द्धी नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई एक सय ३६ रनमा सिमित गरेको थियो। नेपालका सन्दीप लामिछानेले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए। साहब आलम र सोमपाल कामीले एक एक विकेट हात पारे। विकेट नलिएपनि चार ओभरमा करन केसीले २२ र अविनाश बोहराले २६ रनमात्र खर्चिए।
त्यसपछि दुई युवा ब्याट्सम्यान आरिफ शेख र कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। ओपनिङ ब्याट्सम्यानका रुपमा आएका यी दुवै खेलाडीको यो पहिलो टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल थियो।
नेपालले १५ ओभरमा केवल एक विकेट गुमाएर लक्ष्य पुरा गर्दा कुशलले ६२ रन जोडे भने आसिफ ५४ रनमा अविजित रहे। कुशलले ४६ बलमा पाँच छक्का र पाँच चौका प्रहार गरे। उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान बने।
आसिफले ३८ बलमा चार छक्का र चार चौका प्रहार गरे। उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको सूचीमा कुशलभन्दा मात्र पछाडि अर्थात दोस्रो स्थानमा रहे। उनिहरु दुवैले यसअघि सन्दीप जोराको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन्।
सन्दीपले ५३ रन बनाएका थिए सन् २०१९ मा यूएईविरुद्ध भएको खेलमा। त्यतिबेला उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका थिए।
आसिफ र कुशलले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेका थिए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो विकेटका लागि गरेको यो सबैभन्दा बढी रनको साझेदारी हो। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनैपनि विकेटका लागि दोस्रोपटक सतकीय साझेदारी गरेको हो। यसअघि पारस खड्का र आरिफ शेखले सन् २०१९ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए, दोस्रो विकेटका लागि।
आसिफ र कुशलकै विस्फोटक ब्याटिङपछि नेपालले ९ विकेटको जित हात पारेको हो। यसअघि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विकेटका हिसाबले सबैभन्दा बढी ९ विकेटको जित हात पारेको थियो।
यसअघि नेपालले सन् २०१९ मा सिंगापुरलाई ९ विकेटले हराएको थियो २४ बल खेल्न बाँकी छँदै। यसैगरि सन् २०२० मा थाइल्याण्डलाई पनि ९ विकेटले हराएको थियो ८७ बल खेल्न बाँकी रहँदै। शनिबार नेदरल्याण्ड्सलाई हराउँदा नेपालले ३० बल खेल्न बाँकी थियो।