महिला क्रिकेटरले पनि मासिक भत्ता पाउने, पुरुषका १८ र महिलाका १९ खेलाडी सेन्ट्रल कन्ट्र्याक्टमा

काठमाडौं- नेपाल क्रिकेट संघ-क्यानले महिला क्रिकेटरलाई पनि मासिक भत्ता दिने भएको छ। क्यानको मंगलबार बसेको बोर्ड बैठकले पुरुष खेलाडीपछि महिलालाई पनि सेन्ट्रल कन्ट्र्याक्टमा आबद्ध गरि भत्ता दिने निर्णय गरेको हो।

क्यानले सन् २०२० का लागि महिला क्रिकेटरलाई  तीन ग्रेडमाम बाँढेर सेन्ट्रल कन्ट्र्याक्ट गर्ने निर्णय गरेको छ। ग्रेड एमा पर्नेले १५ हजार, बीमा पर्नेले १२ हजार र सी ग्रेडमा पर्नेले १० हजार रुपैयाँ पाउनेछन्।

सन् २०२० का लागि सेन्ट्रल कन्ट्र्याक्टमा पर्ने १९ महिला खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ। ग्रेड एमा रुबिना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छन्। बीमा ज्योती पाण्डे, अप्सरा बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर छन्।

कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द र शोभा आले ग्रेड सीमा छन्।

पुरुष खेलाडीले मासिक ५० हजार रुपैयाँसम्म पाउने 

क्यानले सेन्ट्रल कन्ट्र्याक्टमा पर्ने पुरुष खेलाडीको संख्या १८ मा झारेको छ।

यसअघि २२ खेलाडीलाई मासिक भत्ता दिइएको थियो। क्यानले खेलाडीले पाउने भत्ता पनि बढाएको छ। अब ग्रेड एले ५० हजार, ग्रेड बीले ४० हजार र ग्रेड सीले ३० हजार रुपैयाँ पाउनेछन्। सन् २०१९ मा ग्रेड एले ४५ हजार, ग्रेड बीले ३५ हजार र ग्रेड सीले २५ हजार रुपैयाँ पाएका थिए।

सन् २०२० का लागि ग्रेड एमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दीपेन्द्रसिंह एेरी, विनोद भण्डारी, बसन्त रेग्मी, सन्दिप लामिछाने र करन केसी परेका छन्। सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ ग्रेड बीमा परेका छन्। ग्रेड सीमा सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, अविनाश बोहरा र कमलसिंह एेरी परेका छन्।

 

प्रकाशित मिती- ७ आश्विन २०७७, बुधबार ०८:१४