क्रोएसियामाथी पोर्चुगलको शानदार जित, फ्रान्सलाई एमबाप्पेले जिताए

लन्डन- यूईएफए नेशन्स लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलमा विश्व च्याम्पियन फ्रान्सले स्वीडेनलाई १-० गोलले हराएको छ भने विश्वकपको उपविजेता क्रोएसियाले पोर्चुगलसँग ४-१ गोलको हार ब्यहोरेको छ।

लिग – ए अन्तर्गतको खेलमा फ्रान्सलाई विजयी बनाउन केलियन एमबाप्पेले निर्णायक गोल गरे। स्वीडेनको मैदानमा भएको खेलमा एमबाप्पेले ४१ औँ मिनेटमा गरेको गोलमा फ्रान्स विजयी भयो। दोस्रो हाफको इन्जुरी समयमा फ्रान्सले अग्रता दोब्बर बनाउने अवसर पाएपनि एन्टोइन ग्रिजम्यानले पेनाल्टी सदुपयोग गर्न सकेनन्।

अर्को खेलमा घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डो बिना नै उत्रिएको साविक विजेता पोर्चुगलको जितमा जोवा फेलिक्स, जोआ क्यान्सिलो, डिओगो जोता र आन्द्रे सिल्भाले गोल गरे। खेलमा ३-० गोलले पछाडि रहेको अवस्थामा क्रोएसियाले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ब्रुनो पेटकोभिचले गोल फर्काएका थिए।

अन्य खेलमा बेल्जियमले डेनमार्कलाई २-० र इङ्ल्यान्डले आइसल्यान्डलाई १-० गोलले हरायो। डेनमार्कको मैदानमा भएको खेलमा जेसन डेनायर र ड्रायस मर्टेन्सले एक एक गोल गरे।

यता आइसल्यान्डको मैदानमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए, पेनाल्टीमा। त्यसपछि आइसल्यान्डले पनि पेनाल्टी पाएपनि बिरकिर जार्सनले सदुपयोग गर्न सकेनन्। इङ्ल्यान्ड ७० र आइसल्यान्ड ८९ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो।

प्रकाशित मिती- २१ भाद्र २०७७, आईतवार १०:०५