मेस्सी यो सिजन बार्सिलोनामै रहने घोषणा
म्याड्रिड- लियोनल मेस्सीले यो सिजन आफु बार्सिलोनामै रहने घोषणा गरेका छन्। बार्सिलोनासँग आफु विवाद गर्न नचाहेको र अदालतमा पुर्याउने मनस्थिती नरहेको भन्दै मेस्सीले शुक्रबार राती उक्त निर्णय सुनाएका हुन्।
बार्सिलोनासँग आफ्नो सम्झौता जुनसुकै बेला पनि क्लब छाड्न सक्ने भएपनि यो सिजन बखेडा झिकेको उनको गुनासो छ। बार्सिलोनाले फ्रि ट्रान्सफर हुने समय सकिएको भन्दै मेस्सीलाई आबद्ध गर्न चाहने क्लबले सात सय मिलियन युरो तिर्नुपर्ने शर्त राखेको थियो। बार्सिलोनाको यहि अडानका कारण मेस्सी समस्यामा थिए।
मेस्सीले दुई साताअघि आफुले क्लब छाड्न चाहेको जानकारी बार्सिलोनालाई लिखित रुपमा सुनाएका थिए। बार्सिलोनासँगको उनको सम्झौता सन् २०२१ सम्म रहेपनि जुनसुकै बेला पनि क्लब छाड्न सक्ने सुविधा उनलाई रहेको मेस्सीले दावी गर्दै आएका छन्।
तर बार्सिलोनाले सिजन सकिएको निश्चित समयभित्र स्थानान्तरण भएमात्र त्यो शर्त लागु हुने तर अहिलेको हकमा सिमा नाघेकाले मेस्सीलाई आबद्ध गर्न चाहने क्लबले सात सय मिलियन युरो तिर्नुपर्ने बताउँदै आएको थियो।
गत सिजन बार्सिलोना उपाधिविहिन बनेपछि र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गोलको पराजय ब्यहोरेपछि मेस्सी क्लबसँगको २० वर्ष लामो बसाई टुंग्याउने निर्णयमा पुगेका थिए। यसबीचमा उनलाई इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आबद्ध गर्ने चर्चा चलेको थियो।