कीर्तिमानसहित बायर्न युरोपियन च्याम्पियन, पीएसजी निराश

लिस्बन- जर्मन क्लब बायर्न म्यनिखले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।

सोमबार बिहान भएको फाइनलमा बायर्नले फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीलाई १-० गोलले हरायो। बायर्नले प्रतियोगिताको यो सिजन सबै खेल जितेर उपाधि हात पारेको हो। च्याम्पियन्स लिगको इतिहाँसमा यसअघि कुनैपनि टोलीले यसरी उपाधि जित्न सकेको थिएन।

किङ्सली कोम्यानले ५९ औँ मिनेटमा गरेको गोल बायर्नलाई उपाधि जिताउन पर्याप्त रह्यो। जोस्सुवा किम्मिचले दिएको पासमा कोम्यानले हेडमार्फत गोल गरेका थिए। कोम्यान फ्रान्सेली खेलाडी हुन् जसले व्यावशायीक खेलाडी जिवन पीएसजीबाटै सुरु गरेका थिए।

केही राम्रा अवसर पाएपनि पीएसजीका नेमार, केलियन एमबाप्पे र एन्जेल डी मारिया लगायत खेलाडीले गोल गर्न सकेनन्। बायर्नका रोबर्ट लेवान्डोस्की पनि केही अवसरमा चुकेका थिए। बायर्नका गोलरक्षक मानुयल नुयरको प्रदर्शन शसक्त रहेको थियो।

बायर्न छैटौँपटक युरोपियन च्याम्पियन बनेको हो। अन्तिमपटक सन् २०१३ मा उसले यो प्रतियोगिता जितेको थियो। पीएसजी भने पहिलोपटक फाइनल पुगेको हो।

 

 

प्रकाशित मिती- ८ भाद्र २०७७, सोमबार १०:४६