सेभिल्ला कीर्तिमानी छैटौँपटक युरोपा लिग च्याम्पियन

लन्डन- स्पेनिस ला लिगा क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ। सेभिल्लाले शुक्रबार राती भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोलले हरायो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले २/२ गोल गरेका थिए।

७४ औँ मिनेटमा इन्टर मिलानका रोमेलु लुकाकुबाट भएको आत्मघाती गोल सेभिल्लालाई विजेता बनाउन पर्याप्त भयो। त्यसअघि लुकाकुकै गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो पाचौँ मिनेटमा। तर लुक डे जङले १२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। उनले हेडमार्फत गोल गरेका थिए। डे जङ आफैले ३३ औँ मिनेटमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए। यसपटक पनि उनले हेडमार्फत गोल गरे।

तर डिएगो गोडिनले २ मिनेटलगत्तै गोल गर्दै इन्टर मिलानलाई २-२ गोलको बराबरीमा ल्याएका थिए।

सेभिल्लाले हालसम्म ६ पटक युरोपा लिगको फाइनलमा स्थान बनाएको छ, ती सबै पटकमा उपाधि पनि जितेको छ। उसले सन् २०१४ देखि लगातार तीन सिजन यो प्रतियोगिता जितेको थियो। त्यसयता पहिलोपटक हात पारेको हो।

प्रकाशित मिती- ६ भाद्र २०७७, शनिबार ०८:२१