नाटकीय जित हात पार्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा, ‘जित्दाजित्दै’ बाहिरियो एटालान्टा

लिस्बन- नाटकीय जितहात पार्दै फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। पोर्चुगलको लिस्बनमा बिहीबार बिहान भएको क्वाटरफाइनलमा पीएसजीले इटालियन सिरि ए क्लब एटालान्टालाई २-१ गोलले हरायो। पीएसअन्जीत २५ वर्षपछि प्रतियोगिताको सेमिफाइनल पुगेको हो।

पहिलो हाफमा पछाडि परेको पीएसजीले अन्तिम समयमा एक सय ४९ सेकेन्डको अन्तरमा दुई गोल गर्दै एटालान्टालाई स्तब्ध बनायो। ९० औँ मिनेटमा मार्क्विनोसले खेल बराबरीमा ल्याएका थिए। उनलाई नेमारले पास उपलब्ध गराएका थिए।

इन्जुरी समयको तेस्रो मिनेटमा म्याक्सिम चुपो मोटिङले गोल गर्दै पीएसजीलाई सनसनीपुर्ण जित दिलाएका हुन्। उनलाई केलियन एमबाप्पेले पास उपलब्ध गराएका थिए। ३१ वर्षीय स्ट्राइकर मोटिङ ७९ औँ मिनेटमा माउरो इकार्दीको स्थानमा मैदान छिरेका थिए।

त्यसअघि पहिलोपटक युरोपियन च्याम्पियन्स लिग खेलिरहेको एटालान्टाले मारियो पासालिचको गोलमा २७ औँ मिनेटमा अग्रता  लिएको थियो। यो सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने पीएसजी पहिलो टोली हो। प्रतियोगिताअन्तर्गत बिहीबार राती एट्लेटिको म्याड्रिड र  आरबी लेइपजिगबीच प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित मिती- २९ श्रावण २०७७, बिहीबार ०७:१६