विकाश मल्ललाई राष्ट्रिय फुटबल टोलीको गोलरक्षक प्रशिक्षकको जिम्मेवारी

काठमाडौं- अखिल नेपाल फुटबल संघ-एन्फाले राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षकको जिम्मेवारी विकाश मल्ललाई दिएको छ।

मल्ल राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक हुन्। घरेलु फुटबल नेपाल आर्मीबाट खेलेका उनी आर्मीका मेजर पनि हुन्। एन्फा एकेडेमीको पहिलो ब्याचका उत्पादन मल्ल आफ्नो समयका कुशल गोलरक्षक थिए। उनी आर्मी टोलीका कप्तान पनि थिए।

राष्ट्रिय टोलीका लागि सन् २००५ देखि २०१३ सम्म खेलेका उनी पछिल्लो समय विभागीय क्लबमै व्यस्त छन्। जापानी दातृ नियोगबाट आएका स्वयंसेवी प्रशिक्षक हिरो मित्सुमारु नेपाल नफर्कने भएपछि गोलरक्षक प्रशिक्षकको जिम्मेवारी मल्ललाई दिइएको हो।

उनले एएफसी लेभल वन गोलकिपिङ कोचिङ सर्टिफकेट गरेका छन् भने एएफसी लेभल थ्री कोचिङ लाइसेन्स सर्टिफिकेट पनि प्राप्त गरेका छन्। उनले फिफा एमए सर्टिफिकेट पनि प्राप्त गरेका छन्।

नेपालले विश्वकप २०२२ को एसियाली छनोटको दोस्रो चरणको प्रतियोगिता खेलिरहेको छ। समूह बीमा रहेको नेपाल पाँच खेलबाट ३ अंक जोडेर अन्तिमबाट एक स्थान माथी अर्थात चौथो स्थानमा छ। नेपालले घरेलु मैदानमा अक्टोबर ८ तारिखमा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्दै छ।

 

प्रकाशित मिती- २० श्रावण २०७७, मंगलवार २१:१२