चिर प्रतिद्धन्द्धीबीच राष्ट्रिय भलिबलको उपाधि भिडन्त

काठमाडौं : पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शसस्त्र प्रहरी बल-एपीएफ क्लब दुवै स्पर्धामा फाइनल पुगेको छ। महिलातर्फ चिर प्रतिद्वन्द्धी  एपिएफ र न्यू डायमन्ड भिड्नेछन्। पुरुषको उपाधिका लागि एपीएफले हेल्प नेपालसँग खेल्ने छ।

महिलातर्फ बिहिबार भएको सेमिफाईनलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्‍यो।   अर्को सेमिफाइनलमा होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित गर्‍यो । डायमन्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ सेमिफाईनलमा एपिएफले साविक विजेता नेपाली सेनालाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गरेको हो।  तीन भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपिएफ सँगको भेट पक्का गरेको हो ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।  विधागततर्फ सर्वोत्कृष्ट  खेलाडीले जनहीँ  १० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले  २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उपाधि भिडन्त शुक्रबार हुने छ।

प्रकाशित मिती- १० माघ २०७६, शुक्रबार ०७:०८