साविक विजेता एपीएफलाई न्यु डायमण्ड भलिबलको उपाधि

काठमाडौं : तेश्रो होङ्गान्जी न्युडायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ । आईतवार भएको फाईनलमा एपीएफले न्युडायमण्डलाई ३–० को सोझो सेटमा हरायो ।

जित पछि एपीएफका कोच महेशबहादुर चौधरीले भने- हामी न्यु डायमण्डसँग ब्लकले जित्ने हो, पहिलो र दोश्रो सेटमा हाम्रो रणनीति त्यति सफल हुन सकेन । डिफेन्स र रिसिभमा पनि समस्या भयो । तेश्रो सेटमा राम्रो ब्लक गर्न सक्यौं ।

न्युडायमण्डका कुमार राईले डिफेन्स र ब्लकका कारण हार भएको बताउँदै भने – हामीले बिपक्षको प्लेसिङ बलमा निकै अंक गुमायौं । तीनै सेटमा अग्रता लिए पनि सफलता हात पार्न सकिएन, पटक पटक प्लेसिङ बल उठाउन नसक्नु पराजयको मुख्य करण बन्यो ।

एपिएफले न्युडायमण्डमाथी २५–२०,२५–२३,२५–१८ को सहज जित निकाल्यो । गोंगबु नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको कार्टमा सम्पन्न फाईनल खेलमा एपीएफकी सरस्वती चौधरी र न्यु डायमण्डकी प्रतिभा मालीले समान २६/२६ अंकको योगदान दिएका थिए ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले  २१ हजार १ सय १ रुपैयाँ प्राप्त गरिन् । विधातर्फ बेष्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,बेष्ट सेटर न्युडायमण्डकी अरुणा शाहि चुनिदा डायमण्डकै सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन् । पुलिसकी कोपीला रानाले बेष्ट क्विईकरको उपाधि जितिन् ।

सरस्वती चौधरीले बेष्ट सर्भरको उपाधि पनि जितिन् । एपीएफकी हिरा केसी बेष्ट ब्लकर चुनिदा एपीएफकै महेशबहादुर चौधरी बेष्ट कोच भए । बिधागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।

होङ्गान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजकमा संचालन भएको प्रतियोगिताको उपाधि विजेता एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपबिजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्‍यो।  तेस्रो भएको पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैयाँ हात पार्दा चौथो भएको आर्मीको भागमा ५१ हजार १ सय १ रुपैयाँ पर्‍यो ।

 

प्रकाशित मिती- २८ पुष २०७६, सोमबार ०८:०६