पूर्व लडाकुलाई स्वर्ण पदक, कराँतेमा नेपाललाई १० स्वर्ण र ४ रजत

काठमाडौँ- १३ औँ दक्षिण एसियाली खेलकुद-सागअन्तर्गत कराँतेको अन्तिम दिन नेपालले थप एक स्वर्ण जित्यो। क‍राँतेमा नेपालले यसपटक कुल १० स्वर्ण, चार रजत र पाँच कास्य पदक हात पार्‍यो।

बुधबार पूर्व माओवादी छापामार अनुपमा मगरले नेपाललाई स्वर्ण दिलाइन्। ६८ केजी तौलभन्दा माथिको स्पर्धामा अनुपमाले फाइनलमा पाकिस्तानकी खेलाडीलाई हराइन्।

कराँतेमा   नेपाली महिला र पुरुष खेलाडीले समान पाँच पाँच स्वर्ण हात पारे।

कुमुतेको महिलातर्फ कुसुम खड्का ४५ केजी तौल मुनी, अनु अधिकारी ५० केजी तौल मुनी, ६८ केजी तौलमुनी सुनिता महर्जन र ६८ केजी तौलमाथी अनुपमा मगरले स्वर्ण जिते। नेपालले महिला टिम कातामा पनि स्वर्ण जित्यो।

मन्डेकाजी श्रेष्ठले पुरुष एकल काता र पुरुष टिम कातामा स्वर्ण हात पारे। यसैगरि कुमुतेको पुरुषतर्फ ५५ केजी तौल मुनी लक्ष्मण तामाङ, ६्७ केजी तौलमुनी नविन रसाइली, ८४ केजी तौलमाथी विप्लवलाल श्रेष्ठले स्वर्ण जिते।

महिला एकल कातामा चन्चला दनुवार पाकिस्तानी खेलाडीसँग पराजित भएपछि रजतमै सिमित भइन्। कुमुतेको महिला ६१ केजी तौल मुनी नेपालकी अनु गुरुङ फाइनलमा पराजित भएकी थिइन्। कुमुतेको पुरुष ७५ केजी र ८४ केजी तौलमुनी क्रमश गंगाराम कुसवहा र दिवश श्रेष्ठ रजतमै सिमित भएका हुन्।

अन्य पाँच स्पर्धामा भने नेपाल पहिलो चरणबाटै बाहिर भएपछि कास्यमा सिमित भएको हो।

नेपालले सन् १९९९ पछि साग कराँतेमा सबैभन्दा बढी स्वर्ण जितेको हो। २० वर्षअघि घरेलु मैदानमा आयोजित सागमा नेपालले कराँतेमा १४ स्वर्ण जितेको थियो। १२ औँ सागमा कराँतेलाई समावेश गरिएको थिएन। त्यसअघि ११ औँ सागमा नेपालले कराँतेमा तीनवटा स्वर्ण जितेको थियो।

प्रकाशित मिती- १९ मंसिर २०७६, बिहीबार ०८:५३