महिला भलिबलमा एेतिहाँसिक सफलता, कम्तिमा रजत पदक पक्का

काठमाडौँ- नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद-सागको महिला भलिबलमा फाइनल पुगेको छ।

शनिबार साँझ भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई सोझो सेटमाम पराजित गरेको हो। नेपाली टोली साग महिला भलिबलमा फाइनल पुगेको यो पहिलोपटक हो। यसअघि तेस्रोसम्म भएको थियो।

नेपालले श्रीलंकालाई २५-१४, २५-१८ र २५- २१  को सोझो सेटमा हरायो।

नेपालले स्वर्ण पदकका लागि भारतसँग खेल्ने छ। यसअघि समूहको पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग भने सोझो सेटमा पराजित भएको थियो। शनिबार भएको अर्को सेमिफाइनलमा मालदिभ्सलाई हराउँदै भारत फाइनल पुगेको हो। नेपालले साग महिला भलिबलमा सन् १९९९ यता सहभागि हुन थालेको हो।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भर्खरै मात्र बंगलादेशमा एसियन सेन्ट्रल जोनको उपाधि जितेको थियो। अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपालको त्यो पहिलो उपाधि थियो।

नेपाली पुरुष भलिबल टोली भने १३ औँ सागमा समूहगत चरणबाटै बाहिरिसकेको छ।

प्रकाशित मिती- १४ मंसिर २०७६, शनिबार २१:२८