पुरुष भलिबलमा पहिलो चरणबाटै बाहिरिने खतरा

काठमाडौँ- १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएपछि समूहगत चरणबाट बाहिरिने सम्भावना बलियो देखिएको छ।

बंगलादेशले नेपाललाई बुधबार पाँच सेट खेल्दै पराजित गर्‍यो। सुरुका चार सेटमध्ये दुवैले २/२ सेट जितेका थिए। तर निर्णायक सेटमा नेपाल १५-१२ ले पराजित भयो। त्यसअघि पहिलो सेट नेपालले २५-२१ ले जितेको थियो भने दोस्रो सेट बंगलादेशले २३-२५ ले आफ्नो पक्षमा पारेको थियो।

तेस्रो सेट घरेलु टोलीले २५-१९ ले जित्दै नेपाल बलियो देखिएको थियो। तर चौथो सेट बंगलादेशले २४-२६ ले जितेर खेललाई रोमान्चक बनाएको थियो। तीन टोली रहेको समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्ने छ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। पुरुष भलिबलमा ६ देशको सहभागीता रहेको छ।

प्रकाशित मिती- १२ मंसिर २०७६, बिहीबार ००:५६