टोट्टनहामलाई म्यान युनाइटेडको धक्का, लिभरपुल-म्यान सिटी प्रतिस्पर्धा

लन्डन- इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आईतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोट्टनहामलाई १-० गोलले हराएको छ। उपाधि होडमा रहेको टोट्टनहाम घरेलु मैदानमै पराजित भएको हो।

म्यान युनाइटेडका मार्कस रासफोर्डले ४४ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। इङ्ल्यान्ड राष्ट्रिय टोलीका सदस्य रासफोर्डले पल पोग्बाको पासमा गोल  गरेका थिए।

२२ खेलबाट ४८ अंक भएको टोट्टनहाम शीर्षस्थानमा रहेको लिभरपुलभन्दा ९ अंकले पछाडि छ। टोट्टनहामभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ५० अंक छ। म्यान सिटीले सोमबार उल्भ्ससँग खेल्दै छ। रासफोर्डले यो सिजन घरेलु लिगमा सात गोल र ६ एसिस्ट गरेका छन्।

प्रशिक्षक जोसे माउरिन्हो बर्खास्त भएयता म्यान युनाइटेडले लगातार छैटौँ जित हात पारेको हो। घरेलु लिगमा २२ खेलबाट ४१ अंक भएको म्यान युनाइटेड छैटौँ स्थानमा छ। टोट्टनहामको हारपछि उपाधि होडमा लिभरपुल र म्यान सिटीबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

प्रकाशित मिती- ३० पुष २०७५, सोमबार ०४:१६