विश्वकपमा सेनेगलको सनसनी, पोल्यान्ड २-१ गोलले पराजित

मस्को- १६ वर्षपछि विश्वकपमा फर्किएको अफ्रिकी टोली सेनेगलले शानदार सुरुवात गरेको छ। समूहगत चरणको पहिलो खेलमा सेनेगलले पोल्यान्डलाई म‌ंगलबार साँझ २-१ गोलले पराजित गर्‍यो।

यसअघि एकपटक मात्र विश्वकप खेलेको सेनेगलले त्यतिबेला पहिलो खेलमै त्यतिबेलाको साविक विजेता फ्रान्सलाई हराएको थियो। त्यतिबेला समूहगत चरणमा डेनमार्कसँग १-१ तथा उरुग्वेसँग ३-३ गोलको बराबरी खेलेको सेनेगलले प्रिक्वाटरफाइनलमा स्वीडेनलाई हराएको थियो भने क्वाटरफाइनलमा टर्कीसँग पराजित भएको थियो।

विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने क्रममा सेनेगलको पहिलो गोल पोल्यान्डका थियागो रेन्जेल सिओनेकबाट आत्मघाती भएको थियो। ३७ औं मिनेटमा  सेनेगलका खेलाडीले प्रहार गरेको बल सिओनेकबाट डीफ्लेक्ट भएर पोल्यान्डको गोलपोष्टमा छिरेको थियो। ६० औं मिनेटमा सेनेगलका एम्बाय नियाङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।

पोल्यान्डका खेलाडीले आफ्नै डीफेन्डरलाई दिएको ब्याक पासको बल आफुले नियन्त्रणमा लिएर नियाङले गोल गरेका थिए। ८६ औं मिनेटमा पोल्यान्डले गोल गरेपनि खेलमा फर्कन सकेन। पोल्यान्ड सन् २००६ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो।

यो समूहको अर्को खेलमा मंगलबार राती नै जापानले कोलम्बियालाई २-१ गोलले हराएको थियो। जुन २४ तारिखमा सेनेगलले जापान र पोल्यान्डले कोलम्बियाको सामना गर्ने छ।

प्रकाशित मिती- ५ असार २०७५, मंगलवार १७:०७