जितेन्द्र सेमिफाइनलमा

काठमाडौं-  पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंक खुला टेनिसको दोश्रो र तेश्रो संस्करणका विजेता जितेन्द्रले क्वाटरफाइनलमा प्रणव खनालाई ३–६, ६–४ र ६–३ को सेटमा पराजित गरे । जितसंगै जितेन्द्रले प्रणव विरुद्धको खेलमा जित÷हारको शृंखला बराबरी गरेका छन् ।

योसहित अन्य प्रतियोगितामा दुईको ४ पटक भेट भइसकेको छ । दुईमा जितेन्द्रले जित हात पारेका छन् भने दुईमा प्रणवले बाजी मारेका थिए । दुवैको भेट पहिलो पटक यसै प्रतियोगिताको पाँचौं संस्करणको सेमिफाइनलमा भएको थियो ।

त्यसमा जितेन्द्रले प्रणवलाई हराएका थिए । त्यसपछि बुटवलमा भएको खुला टेनिसमा प्रणवले जितेन्द्रलाई सेमिफाइनल तथा काठमाडौंमा भएको एपीएफ टेनिसमा प्रणवले जितेन्द्रलाई फाइनलमा पाखा लगाए थिए ।

जितेन्द्रले सेमिफाइनलमा अर्का युवा खेलाडी प्रदीप खड्काको सामना गर्नेछन् । प्रदीपले रञ्जन श्रेष्ठलाई ६–१ र ६–३ को सोझो सेटमा पन्छाएका थिए । बाँकी सेमिफाइनल कमल भण्डारी र सन्तोष कार्कीबीच हुनेछ ।

कमलले नवीन मगरलाई ६–२ र ६–१ तथा सन्तोषले सम्यकभूषण वज्राचार्यलाई ६–४ र ६–१ को सीधा सेटमा निराश पारे । सिटिजन्स बैंकको मुख्य प्रायोजनामा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा प्रेरणा कोइराला, गंगा शर्मा र अभिलाषा विष्टले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रेरणाले माहिका राणालाई ३–६, ६–० र ७–६, गंगाले इन्द्रकला श्रेष्ठलाई ६–० र ६–० तथा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६–० र ६–१ ले पन्छाए । सेमिफाइनलमा प्रेरणाको भेट गंगासंग हुनेछ ।

आइरा रावत र एनी माथेमाबीचको अन्तिम तथा चौथो क्वाटरफाइनल खराब प्रकाशका कारण स्थगित भयो । खेल स्थग्न हुँदा पहिलो सेट आइराले ७–५ ले जितेकी छन् । दोश्रोमा आइरा २–४ ले पछि छिन् ।

आइरा र एनीबीचको विजेताले फाइनल प्रवेशका लागि अभिलाषा विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपक श्रेष्ठ, डा। इन्द्रजित राई, डा। अशोक वज्राचार्य र ज्ञानेन्द्रमान ताम्राकार सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी, गोविन्द कासुला, भिष्मजंग गुरुङ, राजु श्रेष्ठ, आत्माराम कार्की, महेश श्रेष्ठ, रञ्जन श्रेष्ठ र रोहित सुनुवार क्वाटरफाइनलमा पुगे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, राजकुमार घिमिरे, आशिष सिग्देल, कमल थापा, कृष्णराज घले, धर्म शाही, राजु राई, राजु श्रेष्ठ, उत्तम शेर्पा, सुदर्शन विष्ट, उत्तम बोगटी, विकास गुरुङ, मनोज शाह, मधु परियार, विभु कायश्थ र विनोद गुरुङ विजयी भए ।

 

प्रकाशित मिती- १७ बैशाख २०७५, सोमबार १६:०६