साइक्लिङमा मेरा २३ वर्ष

सन् १९८० को दशकमा नेपालमा साइकल भित्रन थालेका हुन्। खासगरी, विदेशीहरुले नेपाल आउँदा यहाँको मनमोहक प्रकृतीमा रमाउन आफै साइकल ल्याउँथे। कतिले फर्कदा, ती साइकल नेपालमा छाडेर जान्थे। विदेशीले ल्याएका ती साइकल अत्याधुनिक हुन्थे। हाम्रा (नेपाली) लागि भने असनको फोनिक्स साइकल पसल जिन्दावाद  थियो। हामी त्यहीबाट साइकल किनेर त्यसलाई मोडिफाइ गरी विदेशीको जस्तो बनाउँथ्यौैं र माउन्टेन बाइक मानेर कुदाउँथ्यौं।

त्यतिबेला सोनाम गुरुङ, जितबहादुर तामाङलगायत हामी केही साइकलका निकै सौखिन थियौं। त्यतिबेला काठमाडौंमा १५/२० वटाभन्दा बढी साइकल थिएनन्।  मलाई याद छ, हामी गियरलेस साइकलमा पोखरासम्म पुगेका थियौं। त्यतिबेला काठमाडौं-मुग्लिन-पोखराको बाटो निकै अप्ठेरो थियो। पोखरा पुग्न जितबहादुर तामाङले १० घन्टा ३० मिनेट, मैले ११ घन्टा पाँच मिनेट र सोनाम गुरुङले ११ घन्टा ३५ मिनेट लगाउनु भएको थियो। को चाँडो र कति समयमा पुग्ने भन्नेमा हाम्रो अनअफिसियल प्रतिस्पर्धा नै हुन्थ्यो।
सन् १९८८ मा अमेरिकी नागरिक फ्रान्चिस हेगिन केही मरिन साइकल लिएर नेपाल आउनु भयो। उहाँले काठमाडौं गेस्टहाउसमा साइकल हायरमा दिन थाल्नु भयो, हिमालयन माउन्टेन बाइक कम्पनी खोलेर। नेपालमा साहसिक  पर्यटनमा यसलाई महत्वपुर्ण मान्नुपर्छ। जितबहादुर लगायत केही सोही कम्पनीमा काम गर्नुहुन्थ्यो।

त्यस कम्पनीको नाममा एक वर्षपछि हिमालयन माउन्टेन बाइक च्याम्पियनसिप आयोजना गरियो। हामीलाई निकै डर थियो- खेलाडी पाउँदैनन् की भन्ने। ककनीदेखी बुढानिलकन्ठसम्मको त्यस रेसमा नौ जना साइक्लिस्ट सहभागी भए। हामी कल्पना गर्थ्यौ-  ५० सय जना रेसर हुँदा प्रतियोगिता कति भव्य होला। तर प्रतियोगीको संख्या हरेक वर्ष २५, ५० हुँदै बढ्दै गयो। यो रेसको लोकप्रियता बढ्दै गएपछि अब यसलाई संस्थागत गर्नुपर्छ भन्ने निष्कर्शमा हामी पुग्यौं र सन् १९९५ मा नेपाल माउन्टेन बाइक संघका रुपमा संघ दर्ता गर्‍यौँ । त्यतिबेला संस्थापक समितीमा केवल नौ जना थियौं। तीमध्ये धेरै खेलाडी नै थियौं। त्यसअघिका केही रेसमा मैले पनि प्रतिस्पर्धा गरेको थिएँ। सबैले मैले नेतृत्व गर्नुपर्छ भनेपछि म अगाढि बढेँ।  साइक्लिङका सबै गतिविधिलाई हेर्नुपर्ने भएपछि हामीले सन् २००० नाम परिवर्तन गरी नेपाल साइक्लिङ संघ बनायौं।

संघ दर्ता भएसँगैं पुर्वाधार विकाशका कामहरु हुँदै गए। सेफ्टी र क्वालिटीका हिसाबले खेलाडी छनोटलाई पनि ध्यान दिन थालियो। सन् २००८ मा नेपाल ओलम्पिक कमिटीको सहयोगमा सोलिडारिटी कोर्सअन्तर्गत कमिसार (रेफ्री) र प्रशिक्षकलाई सहभागी गरायो। दुवैतर्फ हामीले  २०, २० जना प्राविधिकहरु तयार गर्‍यौ।  सोही वर्षको नोभेम्बरमा हामीले सफलतापुर्वक १४ औं एसियन माउन्टेन बाइक च्याम्पियनसिप आयोजना गर्‍यौ। प्रतियोगितामा १३ देशका एक सय ६० भन्दा बढी खेलाडीको सहभागिता थियो। यही प्रतियोगिताले नेपाललाई विश्व साइक्लिङमा माउन्टेन बाइक डेस्टिनेशनका रुपमा चिनायो। विदेशीहरु नेपालको प्राकृतिक वातावरण देखेर लोभिए। नेपालमा समेत साइक्लिंगको चर्चा बढ्यो।  साइक्लिङ खेलाडीले अन्य चर्चित खेलका खेलाडीसरह नाम कमाउन थाले।

नेपालका तीन जना खेलाडी छनोट पार गर्दै माउन्टेन बाइक विश्व च्याम्पियनसिपमा सहभागी भएका छन्। एक सय ७० भन्दा बढी खेलाडीले भाग लिएकामा हाम्रा खेलाडीले ५०, ५१ र ५५ औं स्थान हाँसिल गरे। उनीहरुको सफलताले नेपालबारे विदेशीको उत्सुकता थप बढायो।
माउन्टेन बाइकमा हाम्रो सम्भावना निकै राम्रो छ। एसियन च्याम्पियनसिपमा पाँचौं सम्म भएका छौं। अहिले पनि हामी एसियन माउन्टेन बाइकमा टपटेनमा पर्छौ।  तर साइक्लिङ खेल र यसका विधाहरुबारे अझैपनि मानिसहरु स्पष्ट नभएको देख्छु। साइक्लिङ खेलको संरचना र यसको प्रकारबारे अन्यौलता पाउँछु। खासगरी, साइक्लिङ खेलमा धेरै विधा र उपविधाहरु हुन्छन्। यसलाई हामीले मुख्यतया माउन्टेन बाइक, रोड साइक्लिङ, बिएमएक्स र बेलोड्रममा वर्गिकरण गर्न सक्छौं। पहाडी भेगमा, उकाली ओरालीमा, अफ रोडमा गरिने साइक्लिङ माउन्टेन बाइक हो। माउन्टेन बाइक पनि दुई प्रकारको हुन्छ, डाउनहिल र क्रसकन्ट्री।

डाउनहिलमा हामी एसियामा शीर्ष सातभित्र आउँछौं भने क्रसकन्ट्रीमा शीर्ष १० भित्र। त्यसैले यी दुवै स्पर्धामा हामीले बेलैदेखि तयारी गर्ने हो भने एसियन गेम्समा हामीले साइक्लिङबाट पदक ल्याउन सक्छौं। साउथ एसियन गेम्स(साग)मा अहिलेसम्म माउन्टेन बाइकलाई समावेश गरिएको छैन। यदि, नेपालमा हुने आगामी सागमा माउन्टेन बाइकलाई समावेश गर्ने हो भने दुवै स्पर्धामा हाम्रो स्वर्ण पदक निश्चित छ। दक्षिण एसियाली माउन्टेन बाइकमा हाम्रो उपस्थिती निकै सशक्त भएपनि यस स्पर्धालाई सागमा समावेश गरिएको छैन। सागमा रोड साइक्लिङलाई समावेश गरेको पनि तीन संस्करणमात्र भएको छ। त्यसैले हामीले अब माउन्टेन बाइकलाई समावेश गर्न पहल गर्नुपर्छ। यसका लागि कम्तिमा चार देशको सहमती चाहिने भएकाले हामीले उनीहरुलाई मनाउन प्रयाश गर्नुपर्छ।

हामीले अहिलेसम्म १६ पटक क्रसकन्टी र आठ पटक डाउनहिल राष्टिय च्याम्पियनसिप आयोजना गरिसकेका छौं । नेपाली खेलाडीहरु विदेशमा नियमितरुपमा गएर अफिसियल र निजी क्षेत्रका प्रतियोगिताहरु खेलि रहेका छन्। नेपाली खेलाडीलाई सहभागी गराउँदा मात्र पनि प्रतियोगिताको गरिमा बढ्ने आयोजकको मानसिकता अहिले छ। यो निकै ठुलो कुरा हो। र, सबैभन्दा ठुलो कुरा त नेपालमा माउन्टेन बाइक च्याम्पियनसिप आयोजना र आकर्षण पनि हो। हामी चक्रपथबाहिर निस्कने वित्तिकै जहाँ पनि माउन्टेनबाइकका कोर्सहरु देख्न सक्छौं, प्राकृतिकरुपमै। उपत्यकाबाहिर त यो अझ राम्रो छ। ७० प्रतिशत पहाडी क्षेत्र माउन्टेन बाइकका लागि उत्तम छन्।

विदेशहरु नेपालमा लोभिने कारण पनि हो। किनभने साइक्लिङ भनेको खेल मात्रै होइन यो त स्वास्थ्य र एडभेन्चर पनि हो। अहिले पनि विदेशीहरु नेपालमा आएर यस्ता प्रतियोगिताहरु गरिरहेका हुन्छन् ब्यावशायिकरुपमा तर राज्यलाई थाहा नै हुँदैन। यस किसिमका साहसिक पर्यटकिय खेलमा राज्यले ध्यान दिन सकेमा ठुलो फाइदा नेपाललाई हुन सक्छ। विदेशी साइक्लिष्टहरु नेपालमा कति आकर्षित छन् भन्ने कुरा अस्ति भर्खरको एसियन इन्डुरो च्याम्पियनसिपबाट थाहा हुन्छ।

यसमा ७० भन्दा बढी विदेशीको सहभागिता थियो। राज्यले यस खेलमा लगानी बढाउनुपर्छ। माउन्टेन बाइक एउटैको ४/५ लाख रुपैयाँ पर्ने हुँदा सुरुमा खर्चिलो हुन्छ। तर यसमा राज्यतर्फबाट सहजिकरण हुन्छ। भारतको सिक्कीममा त्यहाँको सरकारले तीन करोड रुपैयाँ लगानीमा माउन्टेन बाइक कोर्स तयार गरिरहेको छ। तर हाम्रोमा ठिक उल्टो देखिन्छ। हामीले प्राकृतिक रुपमै तयार रहेका कोर्सलाई सदुपयोग गर्न सकिरहेका छैनौं। बरु शिवपुरी निकुन्जमा साइकल प्रवेशको भाडा अचाक्ली बढाएर साइक्लिङलाई निरुत्साहन गर्न खोजियो। मोटरसाइकलको शुल्क ३५ रुपैयाँ हुँदा साइकलको प्रवेश शुल्क एक हजार ५० रुपैयाँ र भ्याट पुर्‍याईयो। हामीले विरोध गर्‍यौं र अहिले एक सय ५६ रुपैयाँ ५० पैसा छ। यो पनि दुर्भाग्य हो। किनभने माउन्टेन बाइकका लागि निकुन्जहरु निकै उपयुक्त मानिन्छन्।

हामीले बदमासी गर्नेलाई कारबाही गर्ने हो तर त्यसको समाधान भनेको प्रवेश शुल्कमै कडाई गर्ने होइन। साइक्लिङ भनेको यस्तो खेल हो जसलाई कुनै र‌ंगशाला चाहिँदैन। यसमा सरकारले खेलाडीलाई मात्र हेरिदिए पुग्छ। साइक्लिङमा रिटायर्ड भएपछि पनि मान्छे बेरोजगार भएर बस्नु पर्दैन। गाइडलगायत विभिन्न कामहरु गर्न सक्छ।

अहिले नेपालमा करिब एक लाखको स‌ंख्यामा फन राइडर हुनुहुन्छ भने करिब एक सयको स‌ंख्यामा रेसर हुनुहुन्छ। उहाँहरुलाई हामीले प्रमाणित गरेका पनि छौं। प्रतियोगितामा त एक सय ५० भन्दा बढीको सहभागिता हुन्छ तर हामीले रेसरको रुपमा प्रमाणित गर्न केही सिमाहरु छन् जसलाई उहाँले पुरा गरेका हुनुपर्छ। २३ वर्ष संघमा रहेर भर्खरै मात्र विदा लिएको छु। यसको मतलब साइक्लिङभन्दा अनुहार नै अर्कैतिर फर्काएर हिँड्ने भनेको होइन । नेपाली साइक्लिङमा मेरो जिवन समर्पित छ तर जतिबेला पनि तयार छु सहयोग गर्न। मेरो सपना छ, साग र एसियाडमा पदक जित्ने। हामीसँग सबै पुर्वाधार छ। अबको नेतृत्वले सागमा माउन्टेन बाइकलाई समावेश गर्न सक्यो भने त्यो निकै ठुलो सफलता हुने छ। मेरो आफ्नै साइकल ब्यवशाय पनि छ, सन् १९९७  देखी सुरु गरेको। अब यसैमा मेरो समय बित्ने छ।

 

प्रकाशित मिती- १६ बैशाख २०७५, आईतवार ०५:३६