त्यो मुङ्ग्रो क्रेज, यो क्रिकेट माहोल

फेरी मुंग्रो खेल्न जान लागिस्। पढ्नु पर्दैन गधा ?

मैले दिनहुँ यस्ता  गालि सुनिरहनु पर्थ्यो। म भने मुङ्ग्रो खेल्न मरिहत्ते गर्ने । यी गालीहरुलाई एक कानले सुनेर अर्काे कानले उडाई दिन्थे।  मुङ्ग्रो खेल्नु मेरो दैनिकी थियो।

१३-१४ वर्षसम्म भकुन्डो खेल्थेँ, सधैं ब्याक्की राख्ने साथीहरुले। आफुलाई फर्वार्ड खेल्न मन पर्ने। मन लागेर मात्र कहाँ हुने रहेछ र ! फर्वाड हुन चाहिने स्किल ममा थिएन, अरुले पनि त्यो देखेनन्। त्यस समयमा ठुलो चौर नैकाप र वहरघट्टामा मात्र थियो। जुन टीम पहिला बल लिएर पुग्थ्यो, त्यही टिमले फुटबल खेल्ने।

सन् १९९५ मा सगरमाथा  ब्रिलियन्स एकेडेमीको स्थापना भयो। तराई मुलका ( राजविराज)का साथीहरुसँग भेट हुने मौका पाएँ। उनिहरु क्रिकेटमा एकदम निपुर्ण थिए। स्कुल सकिएपछि राजविराजका साथीहरु क्रिकेटको ब्याट र बल लिएर  सानो ग्राउन्डमा क्रिकेट खेल्न झर्थे। दुर्भाग्य ! त्यस समयमा क्रिकेटलाई धोतीहरुको खेलको रुपमा हेर्ने गरिन्थ्यो। तराइ मुलका बाहेक अन्य क्रिकेट खेल्न जाँगर चलाउँदैन थिए।

रितेश, नितेश, प्रशान्त, सन्जय लगायत साथीहरु क्रिकेटमा खुबै रमाउँथे। विस्तारै विस्तारै मलाई पनि यो खेल सिक्ने रहर जाग्यो। म पनि छुट्टी भएपछि सानो स्कुल ग्राउन्डमा क्रिकेट खेल्न जान थालें। उनीहरुसँग मिसिन थाले‌ं।

ए पख‍‍‍‍ ‍‍‍….पख…!  विक्रमलाई पहिला फिल्डिङ गरा भन्यो रितेशले। मलाई फिल्डिङ भनेको राम्रोसँग थाहा थिएन। ब्याट्सम्यानले हानेको बल जहाँ पुगेपनि मै कुदेर लिएर आउनु पर्थ्यो। बल लिन पाउँदा एकदम खुसी लाग्थ्यो। स्कुलको कम्पाउन्डबाहिर सानो खोला थियो। रबरको बललाई बगाएर केही टाढा पुर्‍याउँथ्यो। म केही मतलब नगरी बललाई नै आफ्नो प्रथम लक्ष्य मानी जहाँ गएपनि लिएर अाउँथें।

रितेश सधैं कराउँथ्यो-विकु यो ब्याट्सम्यानले तेरो साइडमा प्लेसिङ गर्छ, रेडी बस।

थुइक्क ! बल फेरी  हातमा लागेर झर्‍यो।

यसरी सधै‌ं ब्याट्सम्यानको निशाना र   बल ल्याउने फिल्डर मात्र बनें।

रितेशले मलाई विस्तारै क्रिकेट सिकाउन थाल्यो। मलाई पढाई भन्दा क्रिकेटमा रुची बढ्न थाल्यो। यसैक्रममा फास्ट बलिङ र स्पीन बलिङबारे बुझ्न थालेँ। विस्तारै विस्तारै मैले पनि बल डिफेन्स गर्न सिँके।

नियम नै थियो- कम्पाउन्ड उडेर  कट्यो की आउट। कयौं पटक पहिलो बलमा आउट हुन्थेँ। निराशा र रिसबीच फिल्डिङ गरिन्थ्यो। विस्तारै विस्तारै क्रिकेट मेरो अभिन्न मित्र बन्न थाल्यो।

सन्  १९९९ को क्रिकेट विश्वकपमा पाकिस्तानको पराजय भएको खबर पत्रिकामा छापियो। त्यसमा अनौठो खबर यो थियो की आफ्नो देशको हारपछि पाकिस्तानमा समर्थकले टिभि फुटाए।  यस्ता समाचारको गहिरो प्रभाव हुने गर्थ्यो मजस्ता क्रिकेटप्रेमीलाई।

सन् २००१ मा इन्डिया घुम्न जाने मौका पाएँ। रक्सौलबाट बिडिएम नमको ब्याट किने‌ं। यसपछि आफु डनजस्तै भए गाउँमा  त्यसबेला मेरो गाउँमा क्रिकेट ब्याट बसन्त अंकलसँग मात्र हुन्थ्यो। आफ्नो घर पछाडि छिमेकीको जग्गामा कविन्द्र र पवनलाई बलिङ गराउन लगाउँथे। बल उडेर छिमेकीको घरमा पुग्थ्यो।

ए विक्रम  मुंग्रो हान्न बन्द गर नत्र तेरो मुंग्रोलाई भाँचिदिन्छु।

छिमेकीहरुको गाली र चुनौतीको कुनै पर्वाह थिएन मलाई।

भाईहरुलाई म कराउँदै भाग भाग भन्थेँ। घर नजिकै रिचा को एडू होम भन्ने बोर्डिङमा बेलुकी विस्तारै क्रिकेटको लहर देखिन थाल्यो। म हल्का मिडियम पेश बलिङ गर्न सक्थे‌ं। तर लाइन र लेन्थ ममा थिएन। मसँग ब्याट भएकाले आउट भएपनि गरिरहँन्थे‌ं।

टुडिखेलमा क्रिकेट हेर्न आउट थालियो। टीयू मैदानमा पनि पुग्न थाले‌ं। मनभित्र क्रिकेटर बन्ने सपना यति थियो की कहीँ क्रिकेट भईरहेको छ भने जसरी पनि त्यहाँ पुगिन्थ्यो। त्यसबेला मेरो आईडल मेहबुब आलम हुनुहुन्थ्यो। सन् २००३ को विश्वकफले मलाई क्रिकेटमा थप रुची जगायो।

घर नजिकै ग्राउन्ड थिएन । भएका ग्राउन्ड पनि क्रिकेट खेल्न पर्याप्त थिएनन्। स्कुलमा साना ग्राउन्डमा केवल डिफेन्सिभ सट मात्र खेल्न सकिन्थ्यो।  तर दुखै भएपनि इच्छा नमर्दाे रहेछ। टिपिन खाने पैसा बचाएर बल किनिन्थ्यो।

दुखको कुरा मेरा अन्य साथीहरु क्रिकेटलाई भन्दा ज्यादा फुटबललाई प्राथमिकता दिन्थे। क्रिकेटमा आफु एक्लो जस्तै हुन्थे‌ं। एक दुई जना भएपनि कालापानी र घर नजिकैको ग्राउन्डमा गएर विकेट गाडेर खेलिन्थ्यो।  साना भाईहरुसँग खेलेर भएपनि धित मारिन्थ्यो। उनीहरुमा विस्तारै क्रिकेटको क्रेज देख्न थाले‌ं। टिभिमा आउने क्रिकेटको रिपिट ब्रोडकास्ट त टेलि सिरियलजस्तै गरी हेरिन्थ्यो। साथीहरु सबै यो देखेर मलाई गाली गर्थे।

एसएलसी सकिएपछि पनि खेल्नेक्रम रोकिएन। नेपालले यू-१९ विश्वकपमा न्युजिल्यान्ड, बंगलादेश , दक्षिण अफ्रिकाजस्ता टोलीलाई हराएको सुन्दा मेरो छाती खुसीले चौडा हुन्थ्यो।

नेपाली सिनियर टिमको कप्तान राजु खड्का दाई हुनुहुन्थ्यो। उहाँ एकदमै राम्रो अलराउन्डर। म स्कुल पढ्दा विनाेद दास र मेहबुब दाईहरु चर्चित भईसक्नु भएको थियो। उहाँहरुको  पेस बलिङबारे सर्वत्र चर्चा हुन्थ्यो। एसएलएसी सकिएपछि आफ्नै गाउँ दहचोकको साथी मनिराम गिरीसँग दुई जना मात्र कैयौं महिना खेल्यौं। केही वर्षपछि सोही ग्राउन्डमा पचासौं जना क्रिकेट क्रेजीहरु आउन थाले। धेरै पटक बल हराउँथ्यो। आफुले हानेको बलले छिमेकीको घरको झ्यालको सिसा पनि फुट्यो। सिसा किन्दीएर बोकेरै घरसम्मै पुराएर पनि क्षतिपुर्ती दिनु परेको थियो।

तर,  क्रिकेटर बन्ने सपना बोकेर मात्र नहुने रहेछ। यसलाई बल र ब्याट भएर मात्र पनि नपुग्ने रहेछ। लगनशीलता,परिश्रम र प्यासन आवश्यक चिज रहेछन्। विस्तारै कलेज जान थालियो। क्रिकेट भने मेरो जिवनबाट कहिल्यै टाढा भएन। टिभीमा आउने क्रिकेटका खेलहरु प्राय सबै हेरिन्छ। तर मेरोजस्तै रहर अहिले छोरामा देख्छु। क्रिकेट भनेपछि मरिहत्ते गर्छ।

छोरा रिदमलाई ब्याट र बल किन्देको छु। उसलाई ब्याटिङ मन पर्छ। सानैदेखी क्रिकेटमा रुची राखेको छ। बाबु छोरा फुर्सदको बेलामा खेल्छौं तर रिसाउँछ राम्रो बलिङ गरिन भनेर। छोराले पनि बेला बेला बल कम्पाउन्डबाहिर पुग्ने गरी हान्छ। श्रीमती रिसाउँछिन् अनि स्ट्रेट खेल भन्दै छोरालाई अनुरोध गर्छिन्। श्रीमती पनि क्रिकेट बुझछिन्।  मलाई आनन्द लाग्छ। दुवै जना टिभीमा आउने क्रिकेट खेलहरु भरसक छुटाउँदैनन्।

मलाई थाहा छ- खेलेर सबै खेलाडी बन्दैनन्। खेल्नु र खेलप्रती रुची हुनु खेलाडी हुनुभन्दा माथीको विषय हो। यो त सोख र आनन्दको विषय हो। यसैले खुसी दिने रहेछ। जुन म बाल्यकालदेखि लगातार पाईरहेको छु। त्यसैले त घरको सानो कम्पाउन्डमै भएपनि, समय मिल्ने बित्तिकै क्रिकेट खेलिहालिन्छ।

त्यसो त अहिले नेपालले अन्तर्राष्ट्रिय  क्रिकेटमा निकै छर्लाङ मारेको छ। नेपालले विश्वकप पनि खेलिसकेको छ, एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पनि पाएको छ। अहिले नेपालमै पनि प्रतियोगिता नभएको दिन हुँदैन। अभिभावकहरु छाेराछोरीलाई क्रिकेट खेलाडी बनाउने सपना देख्न थालेका छन्। मेरो पनि इच्छा छ- छोरा राम्रो खेलाडी बनोस्। ( क्रिकेटका क्रेजी विक्रम गिरी हाल होटल हस्पिटालिटी क्षेत्रमा सक्रिय छन्।)

प्रकाशित मिती- १३ बैशाख २०७५, बिहीबार ०४:१९