रुसमाथि ब्राजिलको शानदर जित,

 काठमाडौं । विश्वकप फुटबलको तयारी स्वरुप अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भइरहेको छ । यसै अन्तर्गत शुक्रबार राति भएको खेलमा विश्वकपको आयोजक देश रुसलाई विश्वकपको दाबेदार मानिएको ब्राजिलले हराएको छ ।

मस्कोमा भएको खेलमा घरेलु टोली रुस ब्राजिलसँग ३-० ले पराजित भएको हो । चोटका कारण मैदान बाहिर रहेका र विश्वकपमा मैदान फर्किने आश गरिएका स्टार खेलाडी नेइमार बिना नै खेलेको ब्राजिलको जितमा मिराण्डा, फिलिप कोन्टिन्हो र पाउलिन्होले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा तीनै गोल ब्राजिलले दोस्रो हाफमा गरेको हो ।

मात्रै १३ मिनेटको बिचमा ब्राजिलले तीन गोल गरेको हो । ५३ औँ मिनेटमा मिराण्डाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । त्यसको ९ मिनेटपटि कोन्टिन्होले दोस्रो गोल गरे । ६६ औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि ब्राजिलले जित निश्चित गरेको हो ।

पाँचपटकसम्म विश्व विजेता बनेको ब्राजिल पछिल्ला ८ खेलमा अपराजित छ । नेइमारको अनुपस्थिति खड्किए पनि ब्राजिलले आफू प्रतियोगिताका लागि तयार रहेको सन्देश दिएको छ । अब मंगलबार ब्राजिलले विश्व विजेता जर्मनी तथा रुसले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।

 

प्रकाशित मिती- १० चैत्र २०७४, शनिबार ०२:४४