नेपाल १४९ रनमा समेटियो, पारसले ६३ रन बनाए

खेलाडी सम्बाददाता काठमाडौं – जिम्बावेमा जारी आईसिसी एकदिवशीय विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १४९ रन जोड्यो। नेपालको पालीमा कप्तान पारस खड्काले ६३ रन बनाए। बसन्त रेग्मीले अविजित २४ , सोमपाल कामीले १८ र रोहित पौडेलले १५ रन बनाए।

उपकप्तान ज्ञानेन्द्र मल्ल एक, दीपेन्द्र सिंह एेरी एक र दीलिप नाथ चार रनमा आउट भए। शरद भेषावकरले खाता खोल्न सकेनन्। आरिफ शेख दुई रनमा पवेलियन फर्किए।

३९ रनमा पाँच विकेट गुमाएको नेपालका लागि पारसले सोमपाल कामीसँग मिलेर छैटौं विकेटका लागि ४२ रनको साझेदारी गरे। सोमपाल छैटौं विकेटका रुपमा रन आउटको शिकार भए। नेपालले नवौं विकेटका लागि २६ रनको साझेदारी गरेको थियो। सन्दीप लामिछानेले नवौं विकेटका रुपमा ६ रनमा आउट भएका थिए।

यसअघिका खेलमा टस जितेपछि प्राय पहिला फिल्डिङ गर्ने गरेको नेपालले यसपटक भने ब्याटिङ गर्ने निर्णय गर्यो। तर नेपाल सुरुवातदेखि नै दबाबमा रह्यो।

नेपालले दोस्रो ओभरको पहिलो बलमा ज्ञानेन्द्रलाई गुमायो। अर्का ओपनर दिलिप नाथ चार रनमा आउट भए। नेपालले ११ रन जोड्दा दोस्रो विकेट गुमाएको हो। नेपालले १४ रनको स्थीतिमा पाँचौं ओभरको पहिलो बलमा दीपेन्द्रलाई गुमायो। लगत्तै अर्को बलमा शरद आउट भए। नेपालले ३९ रन जोड्दा पाँचौं विकेट गुमाएको थियो।

पारसले ७५ बलमा १० चौका प्रहार गरे। उनले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गर्दै यो सफलता हात पार्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनको पराजय ब्यहोरेको थियो।

नेपालले यसअघि स्कटल्यान्डसँग तीन पटक प्रतिस्पर्धा गरेकामा सबैमा पराजित भएको थियो। सुपर सिक्स पुग्ने सम्भावना कायम राख्न नेपाल जित्नैपर्ने दबाबमा छ।

नेपालले समूहगत चरणमा हङकङ र अफगानिस्तानसँग पनि खेल्ने छ। समूहको शीर्ष तीन टोली सुपर सिक्स पुग्नेछन्।
दुई खेल खेलेका स्कटल्यान्ड र जिम्बावेको समान चार अंक रहेको छ।

 

प्रकाशित मिती- २४ फाल्गुन २०७४, बिहीबार ११:०७