ब्राइटनसँग  पराजित  आर्सनल

खेलाडी सम्बाददाता काठमाडौं – आर्सनल पछिल्लो ३६ वर्षमा पहिलो पटक ब्राइटनसँग पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु मैदानमा भएको खेलमा ब्राइटनले आर्सनललाई २–१ ले हराएको हो ।

३६ वर्ष अघि सन् १९८२ मा ब्राइटनले आर्सनलमाथि जित निकालेको थियो । ब्राइटनसँगको हारले आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि दबाब बढेको छ । सातौँ मिनेटमा लुइस डंकको गोलबाट ब्राइटनले सुरुवाति अग्रता लियो ।

२६ औँ मिनेटमा ग्लेन मुरेले अग्रता दोब्बर पारे । ४३ औँ मिनेटमा पियर एमरिकले आर्सनलका लागि एक गोल फर्काए । तर दोस्रो हाफमा आर्सनलले गोल थप्न सकेन र हार्न बाध्य भयो ।

हारपछि छैटौँ स्थानको आर्सनलको २९ खेलबाट ४५ अंक नै छ । दशौँ स्थानमा उक्लिएको ब्राइटनको ३४ अंक भएको छ ।

 

प्रकाशित मिती- २१ फाल्गुन २०७४, सोमबार ०२:०४