अफगानिस्तानले जित्यो एसिसी यु–१९ एसिया कप

काठमाडौं (खेल खेलाडी) मलेसियामा जारी एसिसी यु–१९ एसिया कपको उपाधि एसोसिएट राष्ट्र अफगानिस्तानले जितेको छ । उपाधिका हिसाबले अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानको यो अहिलेसम्मकै ठुलो सफलता हो । प्रतियोगितामा एसियाका चार टेस्ट टोलीको पनि सहभागिता थियो । आइतबार भएको फाइनलमा अफगानिस्तनले पाकिस्तानलाई एक सय ८५ रनले हरायो ।
पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ४८ रन जोडेको थियो । पाकिस्तानले २२.१ ओभरमा सबै विकेट गुमाएर केवल ६२ रन मात्र जोड्न सक्यो । पाकिस्तानलाई सस्तोमा समेट्न अफगानिस्तानका मुजीब उर रहमान एक्लैले पाँच विकेट लिए ।
मुजीबले नेपालविरुद्ध भएको सेमिफाइनलमा पनि ६ विकेट लिएका थिए । क्वाइस अहमद कमावलले पनि तीन विकेट हात पारे । पाकिस्तानका लागि मध्यक्रम ब्याट्सम्यान मुहम्मद ताहाले १९ रन बनाए । यसअघि अफगानिस्तानको पालीमा इक्राम अली खिल एक्लैले एक सय सात रन बनाए । विकेटकिपर ब्याट्सम्यान इक्रामले एक सय १३ बलमा दुई छक्का र १० चौका प्रहार गरेका थिए । पाकिस्तान पहिलो संस्करणको विजेता हो । भारत र पाकिस्तानले संयुक्तरुपमा उक्त संस्करण जितेका थिए । त्यसपछिका दुवै संस्करण भारतले जितेको थियो । यसपटक नेपालले भारतलाई आउट गर्दै सेमिफाइनल पुगेको थियो ।

प्रकाशित मिती- ३ मंसिर २०७४, आईतवार १०:०८